सत्ता पलट गर्ने देउवाको भित्री चलखेल

अनिल धामी/विचार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कसरत चलाएकै बेला नेपाली काँग्रेसले सत्ता पलटको सूक्ष्म तयारी गरिरहेको छ । यसका लागि साना दललाई विश्वासमा लिएर बाजी मार्ने दाउमा कांग्रेस सभापति शेरबहादुर देउवा लागेका छन् । तर गठबन्धन भत्काएर सत्ता पल्टाउन देउवालाई त्यति सहज भने देखिँदैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनका लागि अहिले समर्थन जनाएका सातै दल उनको पक्षमा उभिनुपर्छ ।

त्यसमध्ये पनि राप्रपा र जसपामध्ये एकको समर्थन अनिवार्य जस्तै छ । एमालेका ७८, माओवादीका ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका २० गरि १३१ संख्या हुँदा प्रचण्डलाई ७ मत पुग्दैन । त्यसमा जनमत पार्टी ६ सांसद थपिए १ मतको अभाव हुन्छ । स्वतन्त्रबाट समर्थन जनाएका प्रभु साह वा अमरेश सिंहमध्ये एकले मत दिए प्रचण्डले सहजै विश्वासको मत पाउन सक्छन् । तर ढुक्क हुनका लागि राप्रपा र जसपामध्ये कसैको समर्थन अनिवार्य छ ।

राप्रपाका १४, जसपाका १२ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको मत पाए प्रचण्ड समर्थनकै संख्या १६९ मा पुगेर संसदको विश्वास जित्नेछन् । तर पछिल्लो समय परिस्थिति प्रचण्डले सोचेअनुसार अनुकूल छैन । राप्रपालाई प्रधानमन्त्री दिएरै भए पनि गठबन्धन भत्काउनुपर्ने मत काँग्रेसमा बलियो भएपछि देउवाले १३८ को हिसावकिताव मिलाउने कसरत थालेका छन् । राप्रपाले बागमती प्रदेशको मुख्यमन्त्री र उपप्रधानसहित चार मन्त्री मागेर गठबन्धनमाथि दबाब दिइरहेको छ । जसपाले उपराष्ट्रपतिमै दाबी गरेपछि प्रचण्डलाई विश्वासको मत गुम्ने हो कि भन्ने चिन्ता लागेको छ ।

यता गठबन्धन भत्काउन काँग्रेसलाई राप्रपा र जसपाको समर्थन अनिवार्य बनेको छ । फलतः शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्दै देउवाले सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । राप्रपाका १४ र जसपाका १२ सांसदसहित स्वतन्त्रमध्ये प्रभु साह र अमरेश सिंहको मत रोक्न सके प्रचण्डको विश्वास गुम्नेछ । साहले ठूलो भाग खोज्नकै लागि नयाँ पार्टी खोलिसकेका छन् भने सिंह काँग्रेसबाटै विद्रोह गरी स्वतन्त्र निर्वाचित भएका कारण देउवातिरै जाने सम्भावना पनि रहेको छ ।

रेशम चौधरीको रिहाइमा प्रचण्डले प्रधानमन्त्री भएपछि विश्वास तोडेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असन्तुष्टि जनाएको छ । देउवाकै हातमा सत्ता आउने देखिए प्रचण्ड नेतृत्वको सरकार बन्नुअघि देउवासँगै संवादमा रहेको जनमत पार्टी पनि हाम फालेर जानेछ ।

प्रचण्डले विश्वासको मत नपाउनेवित्तिकै ठूलो दलको हैसियतले देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेछन् । त्यसपछि काँग्रेसका ८९, राप्रपाका १४, जसपाका १२, नेकपा एसका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टी र लोसपाका ४/४ सहित जनमोर्चाका एक सांसदसहित देउवाले १४० को बहुमत पु-याउने अंकगणित देखिन्छ ।

त्यसमा स्वतन्त्र दुई सांसद पनि थपिए १४२ हुनेछ । देउवा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकको गठबन्धन बनाएर सरकारको नेतृत्व गर्न सफल हुनेछन् । देउवा नभए काँग्रेसले चाहेकै पार्टीको नेतृत्वमा सरकार बन्न सक्नेछ । तथापि यसप्रति आफ्नो कुनै रुचि नभएको भन्दै काँग्रेसले गृहकार्यलाई लुकाउन खोजिरहेको छ ।

यद्यपि अहिले आन्तरिक शक्तिमात्रै नभएर बाह्य शक्तिकेन्द्र पनि सक्रिय बनेको चर्चा सञ्चारमाध्यममा आएको छ । पछिल्लो समय भारतीय राजदूतको बाक्लो भेटघाट र अमेरिकी दूतावासको सक्रियताले सत्ता समीकरणमा फेरबदल हुन सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ । तर सरकार बचाउनका लागि चिनियाँ शक्तिको दौडधुप पनि कमजोर छैन । नेपाललाई जहिल्यै अस्थिरतामा देख्न चाहने विदेशीहरुको सक्रियता सधैँ झै अहिले पनि देखिएको छ । सायद सत्ता संकटमा पर्दै गएको बुझेर हुनुपर्छ गठबन्धनको नेतृत्वकर्ता दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि छिमेकी देशहरु सरकार फेर्न लागिपरेको बताइरहेका छन् ।

आन्तरिक एकता मजबुत नहुँदा सत्ता परिवर्तनमा विदेशीहरु हाबी हुने गरेका छन् । त्यसमा पनि कुनै दलको बहुमत नपुग्ने वर्तमान अवस्थाले सरकार फेरबदलको सम्भावना सधैं कायम रहन्छ । तर जुट्ने र जुटाउनेमात्रै नभएर फुट्ने र फुटाउने खेलका लागि साना दल पनि उत्तिकै हाबी छन् ।

प्रचण्डले विश्वासको मत पाउनका लागि साना दलकै भूमिका प्रमुख छ भने देउवालाई सत्ता ढाल्न पनि सानै दलको भूमिका अहम् छ । अहिले रोजेकै भाग दिन प्रचण्ड तयार भए राप्रपा र जसपा देउवासँग गइहाल्ने मुडमा छैनन् । तर विश्वासको मत पाउनुअघि नै आफ्ना माग सम्बोधनमा सहमतिमा नआए गइहाल्ने संकेत गर्न पनि छोडेका छैनन् ।


Published :२४ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media