काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले घण्टीमा भोट किन मागेको भन्दै कार्यकर्तालाई प्रश्न गरेका छन् । शनिबार रौतहट-काठमाडौं सम्पर्कमञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समानुपातिकमा घण्टीमा भोट मागेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले भने, ‘सम्पर्क मञ्चका साथीहरु रौतहट जिल्लामा गएपछि समानुपातिकमा घण्टीमा भोट दिनुपर्यो भन्ने सुन्नमा आएको छ । सुन्नमा आएको कुरा सही हो होइन, खुलस्त भने भइहाल्छ । प्रत्यक्षमा त कलममा मागेको थिएँ, समानुपातिकमा उसले गरेको काम र बोली मन परेकोले घण्टीमा भोट मागेको हुँ भने भइहाल्यो, तर भोली प्रमाण फेला पर्यो भने गाह्रो पर्ला, समीक्षा गर्नुपर्ने बेला आएको छ।’
उनले समानुपातिकमा एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउँदा राष्ट्रिय पार्टी बन्न नसकेपछि उनले कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले एकीकृत समाजवादीले पाएको मत चित्तबुझ्दो नभएको बताए। उनले काम धेरै गरे पनि प्रचार हुन नसकेको बताए । उनले आक्रमक रुपमा प्रचार नहुँदा जस अरुले लिएको स्पष्ट पारे ।