नेपाल टी–२० लिगः स्पट फिक्सिङमा १० जनाको संलग्नता

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले हालै नेपालमा सम्पन्न नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको जनाएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले लिगमा भएको अनियमिता र फिक्सिङमा एक खेलाडी सहित ४ जना नेपाली र ६ जना विदेशी व्यक्ति संलग्न रहेको जनाएको हो । जसमध्ये ४ जनाले बिचौलियाको काम गर्ने खुलेको सीआईबीले जनाएको छ ।
स्पट फिक्सिङको अनुसन्धानका लागि क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वक्रिकेटर महबुब आलमलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको सीआईबीका एसपी सञ्जयसिंह थापाले जानकारी दिएका छन् ।
उनका अनुसार महबुब आलमले कम्तीमा दुई नेपाली खेलाडीहरुलाई आर्थिक प्रलोभन देखाई फिक्सिङ गर्ने प्रयास गरेका थिए भने मोहम्मद आदिल आलम फिक्सरको प्रलोभनमा परी एक वाइड र एक नोबल बल फालेको देखिएको एसपी थापाले जानकारी दिएका छन् ।
विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरूसमेत स्फट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको उनले बताए ।
पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले फिक्सिङ प्रकरणको अनुसन्धानका लागि जिम्मेवारी पाएपछि अनुसन्धान गर्दा फिक्सिङको पुष्टि भएको बताएका छन् । उनले अहिले पक्राउ परेका दुई खेलाडी बाहेक अन्यको बारेमा थप अनुसन्धान भइरहेकाले पछि जानकारी गराउने बताएका छन् ।
स्पट फिक्सिङको प्रमाण संकलन गरेको गरिएको क्यान र सेभेन थ्री लगाएत सवै अनुसन्धानको दायरामा आउने उनले बताए ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ मा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने उल्लेख छ भने दफा दफा ३३ सजायमा तीन वर्ष कैद र ५० हजार जरिवाना गरी सो कसूर गर्दा कुनै रकम लेनदेन गरेको भए सो रकम समेत जफत हुने उल्लेख रहेको सीआईबीले जनाएको छ ।

म्याच र स्पट फिक्सिङको फरक

म्याच फिक्सिङमा पूरै टिम नै समावेश हुनसक्छ। एक टिमले ‘बुकी’ को निर्देशन अनुसार कसरी खेल हार्ने? कति रन या गोल अन्तरले हार्ने? पहिलो हाफ या इनिङमा कति स्कोर बनाउने? सबै बाहिरी निर्देशनमा नै उनीहरूले मैदानमा आफ्नो गतिविधि गर्छन्। जसमा कराेडौँको चलखेल भइरहेको हुन्छ।

यो प्रकरणमा पूरै टिम नभए पनि टिमका मुख्य जिम्मेवार पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा एकभन्दा बढी व्यक्तिहरूको संलग्नतामा हुन्छ। तर स्पट फिक्सिङमा भने कुनै एक खेलाडीलाई नै बुकीले सम्पर्क गरेर ‘स्पटमा नै’ फिक्सिङ गर्ने गर्छन्।

बुकीहरू कुनै न कुनै रूपमा खेलाडीको नजिक पुग्छन्। उनीहरूलाई सामाजिक सञ्जालको माध्यमबाट या फोन/म्यासेजको माध्यमबाट सम्पर्क गर्दै प्रलोभनमा पारेर फिक्सिङ गतिविधि गर्छन्। जसमा पूरै खेलमा एक खेलाडीको नतिजाले फरक नपार्ला तर पार्ने प्रयास हुन्छ।

स्पट फिक्सिङ क्रिकेटमा पछिल्लो केही वर्षमा देखिएको चुनौतीपूर्ण अपराध हो। किनकि एक बलरले फाल्ने नो बल, वाइडका आधारमा नतिजा परिवर्तन हुनसक्छ। अनि एक ब्याटरले एक ओभरमा कुनै रन बनाउने या नबनाउने कुराले पनि ठूलो अर्थ राख्छ।

बुकीको सम्पर्कमा रहेको क्रिकेटरले निर्देशनअनुसार आफ्नो काम गर्छ। पछिल्लो समय हरेक ओभर र बलमा समेत बेटिङ हुने गरेकाले स्पट फिक्सिङको जोखिम सर्वाधिक बढी हुने गरेको छ। समग्रमा कुनै एक खेलाडीमाथि बुकीको नजर पर्ने गर्छ र उनीहरूको प्रभावमा आएको खण्डमा स्पट फिक्सिङ हुने गर्छ ।


Published :१० माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media