सात केन्द्रीय सदस्यद्वारा क्यान नेतृत्व तहको राजीनामा माग

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सात जना केन्द्रीय सदस्यले नेपाल टी २० लिगमा गरेको गल्तीका कारण नेतृत्व तह र कार्यसम्पादन समितिले पूर्ण जिम्मेवारी बहन गरेर राजीनामा दिनुपर्ने माग गरेका छन् ।

गत पुसमा त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको प्रतियोगितामा स्पट फिक्सिङ जस्ता दुःखद् घटना भएको र त्यसको पूर्ण जिम्मेवारी क्यान नेतृत्वले लिनुपर्ने पत्रकार सम्मेलनमार्फत सात सदस्यले माग गरेका हुन् ।

काठमाडौंको एक होटलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पटक–पटक सचेत गराउँदा पनि जानाजान गल्ती गरेको उनले बताए ।

‘गत बिहीबार क्यान अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल र कोषाध्यक्ष रोशन सिंहले गरेको पत्रकार सम्मेलन क्यानको आधिकारिक धारणा नभएको प्रष्ट पार्न चाहन्छौं,’ सात सदस्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘किनभने यस विषयमा बोर्डमा छलफल गरिएको थिएन। क्यान नेतृत्वले जानाजान गरेको गल्तीले नेपाली खेलाडी प्रहरी नियन्त्रणमा हथकडी सहित देखिनु अर्को दुःखद् । पक्ष हो।’

‘स्पट फिक्सिङ जस्तो गम्भीर अपराध हुन दिनको लागि बाटो खोलिदिन पदाधिकारीहरुको गलती र कार्यसम्पादन समितिका सदस्यहरुको भागिदार नेपाल क्रिकेट संघ हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले हामी नेपाल क्रिकेट संघलाई होइन, कार्यसम्पादन समितिमा रहेका पाँच जनालाई निलम्बन गरी कारबाहीको माग गर्दछौं।’

आफूहरुले पटक–पटक सचेत गराउनुका बाबजुद पनि त्यही कम्पनीलाई नेपाल क्रिकेट सुम्पिने हठले नेपाली क्रिकेटको यो दुर्दशा भएको उनीहरूले बताएका छन् ।

‘हामीले यो कम्पनीलाई क्रिकेट सुम्पिनु सही कदम हुँदैन भनेर पटक–पटक जानकारी गरायौं, सचेत गरायौं,’ संजयराज सिंहले भने, ‘अध्यक्ष ज्यूले हैकमावादी चलाउनु भो र क्रिकेट त्यही कम्पनीलाई सुम्पिनु भो। त्यसको परिणाम आज सबैको सामने छ ।’

भारतीय कम्पनीको शंकास्पद पृष्ठभूमी र उसको नियतमाथि सुरुदेखि नै आशंका गरेर जानकारी गराएको र आज त्यही साबित भएको उनीहरुले बताए ।


Published :१५ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media