काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखमा निर्वाचन भएकोमा बधाई दिएका छन् । यसअघिको संसद बैठकमा आफू उपस्थित भएर बधाई दिन नपाएको भन्दै ओलीले आजको बैठकबाट सभामुख देवराज घिमिरेलाई बधाई दिएका हुन् ।
उनले संसदको गरिमा बढाउन सभामुखको भूमिका उल्लेख्य रहने बताउँदै प्रतिनिधि सभाको अपेक्षा अनुसार काम गर्न सुझाव दिए ।
ओलीले भने, ‘सभामुखमा निर्वाचित भएकोमा बधाई छ। प्रतिनिधि सभाको अपेक्षा बमोजिम कार्यसम्पादन गर्न सक्नुहोस् । संसदको गरिमा बढाउन भूमिका होस् । उपसभामुखलाई पनि बधाई भन्न चाहन्छु ।’
अध्यक्ष ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको टिप्पणी गरे । उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको बताए ।
‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’ उनले भने ।