राष्ट्रिय महिला भलिबलमा एपीएफसँग आर्मी ३–० को सोझो सेटमा पराजित

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलको पहिलो सेट २५–१७ ले जितेको एपीएफले दोस्रो सेटमा २५–१७ को जित निकालेको थियो। तेस्रो सेटमा निरीह बनेको आर्मी १५ अंक मात्र बनाउन सक्यो । शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आर्मी न्यू डायमन्ड क्लबसँग सोझो सेटमै पराजित भएको थियो ।

एपीएफले भने नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । आज हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र न्यू डायमन्ड आमनेसामने हुँदैछन् ।

प्रतियोगितामा यिनै चार टिम सहभागी छन् । प्रतियोगिताको विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, तेस्रो हुनेले ७५ हजार प्राप्त गर्नेछ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १५ हजार प्रदान गर्ने आयोजकको तयारी छ । एक उदीयमान खेलाडीले १५ हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ दी म्याचले १० हजार प्राप्त गर्छन् ।


Published :माघ २२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media