सन्दीप लामिछानेद्वारा सर्वोच्चमा पुनरावेदन, विदेशी भूमिमा खेल्न पाउनुपर्ने माग

राष्ट्रपाटी न्युज

८ फाल्गुन २०७९

काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेशी भूमिमा राष्ट्रिय टीमबाट खेल्न सर्वोच्चको फैसलाबाट अवरोध पुगेपछि उनले पुनरावेदन गरेका हुन् ।

काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो। त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए। उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडिदियो। तर, उनलाई विदेश जान अदालतले रोक लगाएको छ। यसविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।

अदालत स्रोतका अनुसार सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको छ। पाटन उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो। उसले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ। उक्त पुनरावेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल झिकाउने आदेश दिएको थियो ।

नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ। अदालतले विदेश जान रोक लगाएकाले सन्दीप सो टीममा रहने छैनन् । तर, यदि १२ गते सर्वोच्चको पेसीले उक्त रोक फुकुवा गरिदियो भने सन्दीपलाई यूएई जान बाटो खुल्नेछ ।

उनी नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य हुन्। हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। क्रिकेट समर्थकहरूले सन्दीपलाई विदेशमा खेल्ने वातावरण बनाउन अदालत र क्यानसँग माग गर्दै आएका छन् ।


Published :८ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media