‘स्पट फिक्सिङ’ मा ५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता 

राष्ट्रपाटी न्युज

फाल्गुन ८, २०७९

काठमाडौँ ।  नेपाल टी–२० क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । तीमध्ये तीन जना खेलाडी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गराएको अभियोगमा खेलाडीहरू मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्ता भन्ने नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रूपैयाँसम्म जरिवाना माग गरिएको छ ।

उनीहरू तीनैजनालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरिसकेको छ । त्यस्तै स्पट फिक्सिङमा संलग्न नवीन कँडेल र रवि माफीलाई पनि सोही कारबाही माग गरिएको छ । उनीहरू दुवैजना फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गर्न अदालतसमक्ष अनुरोध गरेको छ ।

गत पुस ९ देखि २७ सम्म काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्वभाविक परिणामलाई प्रभावित पार्नेगरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो । उक्त कसुरमा संलग्नताको आरोप लागेका भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसका निर्देशक जतिन अहलुवालिया, प्रमुख कार्यकारी अधिकृत अभिषेक सक्लानी, तथा अन्य भारतीय नागरिकहरू समिर शेख, वीरेन्द्र साह, विकास ध्यानी, प्रतियोगितामा सहभागी फ्रेन्चाइज टोली विराटनगर सुपर किंग्सका मालिक राहुल शर्मा र कप्तान एन्ड्रे म्याकार्थी (वेस्ट इन्डिज) पछि नेपालभित्रबाट पक्राउ परे वा उनीहरूको ठेगाना खुलेमा थप अभियोजन गर्ने गरी मुद्दा दर्ता भएको हो ।

नेपाल टी–२० लिगको आयोजना नै स्पट फिक्सिङ र अनलाइन सट्टेबाजी गरी गैरकानुनी लाभ लिने उद्देश्यले आयोजना गरिएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा बढाएको छ । त्यसक्रममा उक्त प्रतियोगिताको आयोजनासँग जोडिएका भारतीय नागरिकहरू अनुसन्धानमा तानिएका हुन् । साथै जिल्ला अदालतमा दर्ता मुद्दामा थप अनुसन्धान हुँदै जाँदा अन्य खेलाडीको संलग्नता खुलेमा पुरक अभियोजन गर्ने पनि उल्लेख गरिएको छ ।


Published :फाल्गुन ८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media