काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायको प्रमूख चाड ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी-दाजुभाइहरुमा सुस्वास्थ्य, समृद्घि, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुसांस्कृतिक विशेषताहरु हाम्रो सुन्दर देश नेपालका मौलिक पूँजीको रुपमा रहेका बताए । एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्घ देश निर्माणमा सदुपयोग गर्नु पर्ने उनले बताए । विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताका मौलिक आधारहरु समेत रहेको सन्देशमा भनिएको छ ।
अध्यक्ष ओलीले शुभकामना सन्देशमा नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा अग्रसर रहेको बताए । उनले नेकपा (एमाले) जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहेको उल्लेख गरे । समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैमा आग्रह समेत गरेका छन् ।