सांसद भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, मुखबाट खाना खुवाउन थालियो 

राष्ट्रपाटी न्युज

१० फाल्गुन २०७९

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीलाई मुखबाट खाना खुवाउन थालिएको छ ।

गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । अहिले उहाँको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ ।

बुधबार बिहान १०ः५० बजेको अपडेटअनुसार उनलाई मुखबाटै खाना खुवाउन थालिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिएका छन् ।

सिवाकोटीका अनुसार सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका र उपचारबारे आफैंले जानकारी लिइरहेका छन् । उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको नेता सिवाकोटीले बताए । हल्का ईन्फेक्सनको उपचार भइरहेको र उच्च ईन्फेक्सन नहोस् भनेर अस्पतालले भेटघाट गर्न नदिएको उनले बताए । सांसद भण्डारीको अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेको छ ।

सांसद भण्डारीको  स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै नेता सिवाकोटीले फेसबुकमा लेखेका छन्  ‘फागुन-१० बिहान १०.५० बजेको अपडेट अनुसार चन्द्र दाईले दोहोरो संवाद गरिरहनुभएको छ । सवै कुराको जानकारी आफैँ लिइरहनु भएको छ । खाना मुखबाट खुवाउन सुरु भएको छ । भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्युनरुपमा अक्सिजन दिइएको छ । हल्का ईन्फेक्सनको उपचार भईरहेको छ, तर ज्वरो आएको छैन । उच्च ईन्फेक्सन नहोस् भनेर भेटघाट गर्न अस्पतालले दिएको छैन । अन्य स्वास्थ्य प्यारामिटर नर्मल रहेका छन् । अनुहारमा सुन्निएको घटेको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको माधव न्यौपानेले मुम्बईबाट जनाएका छन् ।’

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।


Published :१० फाल्गुन २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media