सरकारका तर्फबाट लिग विजेता खेलाडीलाई जनही २ लाख

राष्ट्रपाटी न्युज

फाल्गुन ११, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको तर्फबाट आइसीसी विश्वकप लिगका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कार दिने घोषणा गरेका हुन् ।

खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पुरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो।’

पहिला पहिला खेल जीवनका लागि अनुशासनका लागि भनिने भएपनि अहिले त्यस्तो नभएको उनले बताए। ‘अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ’, उनले भने ।

खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गर्ने प्रधानमन्त्री दाहालले बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ।’

खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएकोमा खुसी व्यक्त गरे ।


Published :फाल्गुन ११, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media