काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आचारसंहिता सार्वजनिक भएको छ। निर्वाचन आयोगले भोलिदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचार संहिता सार्वजनिक गरेको हो ।
आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ ।
आचार संहिता २०७९ भदौ १३ गते नेपाल राजपत्र खण्ड-७२,संख्या ३२ मा प्रकाशन भइसकेको आयोगले जनाएको छ।
नेपाल सरकार र नेपाल सरकारका मन्त्री,प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,संघ,प्रदेश र स्थानीय तहका कर्मचारी,सुरक्षा निकाय,सुरक्षाकर्मी तथा कर्मचारी,सरकारी,अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी,राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधिलाई आचार संहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि,सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान,सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातामा आचार संहिता लागू हुनेछ ।
आज राष्ट्रपतिका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास चन्द्र नेम्बाङको उम्मेदवारी परेको छ ।