मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्तिले विश्वासको मत दिने

राष्ट्रपाटी न्युज

२१ फाल्गुन २०७९

धनगढी । लिखित सहमति खोज्दै आएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिँदै सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

यसअघि उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो ।

शाहलाई विश्वासको मत दिन माओवादी केन्द्रले पनि निर्देशन दिइसकेको छ । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपाका एक र स्वतन्त्र एक सांसद छन् ।

सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहले प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा विश्वासको मत लिँदैछन् ।


Published :२१ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media