आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालको जित, यूएई ४२ रनले पराजित 

राष्ट्रपाटी न्युज

२२ फाल्गुन २०७९

काठमाडौं । दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई  १८७ रनमा अलआउट गर्दै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा विजयी भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यूएईलाई ४२ रनले पराजित गरेसँगै नेपालले शिर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना बचाई राखेको छ ।

एक समय यूएईलाई जितका लागि ५७ बलमा ५४ रन चाहिएको अवस्थामा यूएईका लागि संयमित इनिङ खेलेका ओपनर आसिफ खान र कार्तीक मियाप्पनलाई लाई आउट गर्दै दीपेन्द्रले लगातार विकेट लिएपछि नेपाल जिततर्फ बढेको थियो ।

यूएईका ओपनर मोहमद वासिम डकआउट हुँदा आसिफ खानले सर्वाधिक ८२ रन योगदान गरे । उनले १ सय १५ बल खेल्दै २ चौका र तीन छक्का प्रहार गरे । आर्यान लाक्राले दीपेन्द्रसिंह ऐरीको बलमा एलबी डब्लू आउट हुँदा ७८ बलमा ४ चौका र एक छक्कासहित ५० रन बनाए ।

भृत्य अर्विन्दले १३ रन योगदान गर्दा अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन असफल भए ।

नेपालको बलिङमा दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा १८ रन खर्चिएर तीन विकेट लिए । सोमपाल कामीले ७ ओभरमा एक मेडन राख्दै २६ रन खर्चिएर तीन विकेट लिए । त्यबाहेक सन्दीप लामिछाने, करण केसी र आरिफ शेखले समान एक विकेट लिए ।

यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २९ रनको योगफल तयार पारेको थियो ।


Published :२२ फाल्गुन २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media