एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

राष्ट्रपाटी न्युज

२७ फाल्गुन २०७९

काठमाडौँ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर शाक्यले उम्मेदवारी दर्ता गरेकी हुन् ।

उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेकी शाक्य वाग्मती प्रदेशकी पूर्वमुख्यमन्त्रीसमेत हुन् । शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनबाट भने जनमत पार्टीले ममता झा र जसपाले रामसहायप्रसाद यादव र प्रमिला यादवलाई उम्मेदवार बनाउने बताएका छन् । निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । शनिबार बिहान ९ बजेदेखि २ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।


Published :२७ फाल्गुन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media