काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
सरकारबाट माओवादी बाहिरिनासाथ नेकपा एकीकृत समाजवादी,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
माओवादीबाट मन्त्री बनेका तीनैजनाले आइतबार मुख्यमन्त्री गिरीसमक्ष राजीनामा बुझाए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री बनेका थिए ।
गत पुस २७ मा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री नियुक्त भएका थिए । माघ ५ मा विश्वासको मत लिएका गिरीलाई ५८ जनाले सांसदले विश्वासको मत दिएका थिए।
माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बनेका गिरी अल्पमतमा परेका छन् । उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । लुम्बिनी प्रदेशमा ८७ सांसद छन् । बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्छ ।