थ्री नेसन्स कपः नेपाल र भुटानबीचको खेल बराबरी

राष्ट्रपाटी न्युज

१४ चैत्र २०७९

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत समूह चरणको अन्तिम खेलको इन्जुरी समयमा दीपकराज सिंह ठुकरीले बराबरी गोल फर्काएसँगै नेपाल भुटानविरुद्धको हारबाट जोगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा भुटान भने फाइनल पुग्न सकेन ।

भुटानका लागि नोर्बुले १९औं मिनेटमा गरेको गोलसँगै नेपाल खेलमा १–० ले पछाडि परेको थियो ।

छेल्त्रिम नाम्गेलले १९औं मिनेटमा हानेको बल सनिश श्रेष्ठलाई लागेर कर्नरमा परिणत भएको थियो । सोही कर्नरमार्फत दावा छिरिङले प्रहार गरेको कर्नरमा ६ यार्ड बक्स अगाडि रहेका तेन्जिन नोर्बुले हेडरमार्फत गोल गरे ।

पहिलो हाफमा १–० ले पछि परेको नेपालका लागि इन्जुरी समयमा दीपकराज सिंह ठकुरीले बराबरी गोल फर्काए । निशान खड्काले प्रहार गरेको कर्नरमा अनन्त तामालले दिएको पासमा पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका दीपकले हेडरमार्फत उत्कृष्ट फिनिसिङ गरे ।

यसअघि भएका १२ खेलमा नेपालले एकलौटी नतिजा निकालेको थियो। तर, १३औं खेलमा नेपाललाई हारबाट जोगिन धौ धौ पर्यो ।

त्यसअघि छैटौं मिनेटमा नेपालका अञ्जन विष्टले हानेको बल चेन्चो ग्याल्चेनलाई लागेर कर्नरमा परिणत भएको थियो । तर, नवीन लामाले प्रहार गरेको कर्नरमा नेपालले उललेख्य अवसर सिर्जना गर्न सकेन ।

भुटान नेपालसँग बराबरीमा रोकिएसँगै लाओस फाइनलमा पुगेको छ । पहिलो खेलमा नेपालसँग २–० ले पराजित भएको लाओसले दोस्रो खेलमा भुटानविरुद्ध २–१ को जितसँगै तीन अंक जोडेको थियो ।

समूह चरणबाट नेपालले एक जित र एक बराबरीसहित चार अंक जोड्दा लाओसले तीन अंक जोड्यो । जितविहीन भुटानको एक अंक मात्रै रहँदा फाइनलमा स्थान बनाउन असफल रह्यो । फाइनल १७ गते हुनेछ ।


Published :१४ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media