तीन मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म एसले मन्त्रीको नाम नपठाउने

राष्ट्रपाटी न्युज

१५ चैत्र २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने भएको छ ।

बुधवार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

‘तीनवटा मन्त्रालय हामीले पाउनुपर्छ भनेका छौँ, अहिले तीनवटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुङ्गो नलागेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसेका छौ’ बैठकपछि खतिवडाले भने ‘जवाफ आएपछि जुनसुकै बेला निर्णय गर्छौ ।’

आफ्नो दलबाट को को मन्त्रिपरिषदमा पठाउने भन्ने टुंगो लागिसकेको भए पनि तीन मन्त्रालय नदिएसम्म नाम नखुलाउने उनले बताए ।

उनले आफूहरुले धेरै कुरा त्याग गरेकोले पनि अहिले तीन मन्त्रालय पाउने ठाउँ नजिक आफ्नो दल पुगेको उनले बताए ।

पार्टी प्रवक्तासमेत रहेका खतिवडाले आफूले मागेका तीन मन्त्रालय दिए मन्त्रीको नाम दिन आफूहरु तयार भएर बसेको स्पष्ट पारे ।

दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने प्रस्ताव राख्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई एकजनाको नाम पठाउन आग्रह गरेका थिए । त्यसपश्चात एकीकृत समाजवादीको आकस्मिक केन्द्रीय सचिवालय बैठक बसेको हो ।


Published :१५ चैत्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media