मुद्रणका कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

राष्ट्रपाटी न्युज

बैशाख ३, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रले पावर सेक्युरिटी प्रेस खरिदमा ७० करोड भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता एवं सहसचिव भोला दाहालले जानकारी दिए ।

कार्यकारी निर्देशक पौडेलसहित सीडीई नविन कुमार पोखरेल,सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत सेवानिवृत्त रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, प्रबन्ध निर्देशक रोहित मान प्रधान,निर्देशक भुवन महर्जन र प्रबन्ध निर्देशक मित्र लाल गुरौंविरूद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको हो ।

अख्तियारले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइड फ्युल स्टोरेज ट्यांक खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी भएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा भ्रष्टाचारजन्य कसूरमा संलग्न पाइएकाले उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । उनीहरूमाथि थप अनुसन्धान हुने अख्तियारले जनाएको छ ।


Published :बैशाख ३, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media