
बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर बिहीबार र शुक्रबार राति गएका दुईवटा भूकम्पका कारण जिल्लाको हिमाली गाउँपालिका-२ मा २३ वटा घरमा क्षति भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार हिजो मध्यरात बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो ।
मापन केन्द्रमा रेकर्ड भए अनुसार अघिल्लो भन्दा पछिल्लो भूकम्प शक्तिशाली रहेको थियो । जसअनुसार बिहीबार राति ११ः५८ बजे गएको भूकम्प ४.९ म्याग्निच्यूडको थियो भने शुक्रबार राति १ः३० बजे गएको भूकम्प अघिल्लोभन्दा बढी शक्तिशाली थियो । पछिल्लो भूकम्प ५.९ म्याग्निच्यूड रहेको रेकर्ड हुन पुगेको जनाइएको छ ।
जसका कारण बाजुराको हिमाली गाउँपालिका-२ का २३ वटा घरमा क्षति भएको हो । हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले हिजो मध्यरात गएका दुईवटा भूकम्पले गाउँपालिकाको वडा नम्बर-२ मा दजनौं घरमा क्षति भएको जानकारी दिए ।
उनका अनुसार वडा नम्बर-२ का वडा अध्यक्ष रणबहादुर बुढाले आफूलाई पठाएको बिबरण अनुसार घरहरु क्षति हुँनेमा वडा नम्बर-२ का धन्जित बुढा, दन्तिर बुढा, जोबलाल बुढा, नौले बुढा, दीलबहादुर बुढा, सौरमल रोकाया, बासु रोकाया, सुरेन्द्र बुढा, दुबलाल बुढा, देब बहादुर बुढा, पंञ्च रोकाया, सुरेन्द बुुढा, जग्गी बोहरा, साईमल बोह, सुर्ज बोहरा, जस थापा भयधन थापा, पूर्ण थापा, कुसुम खड्का, बाचमल रोकाया, कल रोकाया, सुर्ज खड्का र गोल्लाल खड्काको गरी २३ वटा घरहरुमा पूर्ण क्षति भएको जनाइएको छ ।
हिजो राति गएको भूकम्पले बाजुराका अन्य ठाउँमा भने के कति क्षति भयो भन्ने कुराको विवरण आफूसँग आइनपुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् ।
सो भूकम्पले क्षति गरे नगरेको बिहानसम्म कुनै जानकारी नआएको र सो भूकम्पबाट हुन सक्ने क्षति र त्यसका विवरण संकलनका लागि भने सुरक्षाकर्मीसहित बिपद ब्यवस्थापन टोली परिचालन भने गरिएको उनले जानकारी दिए ।
मध्यराति गएका दुईवटा भूकम्पपछी पनि बाजुरामा पुनः शुक्रबार बिहान ९ः ३० बजे बाजुराकै काँडा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । जसका कारण ठुलो भूकम्पपछी निरन्तर यसका पराकम्पनहरु गइरहेका छन् ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर निरन्तर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिमका रुपमा लिने गरिन्छ ।
गत कार्तिक महिनामा सुदूरपश्चिमको डोटी जिल्लामा ६.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।