सहिद स्मारक ‘ए’ डिभिजन लिगः मछिन्द्रविरुद्ध चर्च व्वाइजको रोमाञ्चक जित

राष्ट्रपाटी न्युज

बैशाख २७, २०८०

काठमाडौं । मछिन्द्र फुटबल क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अञ्जन बिष्ट र कमल श्रेष्ठले एक–एक गोल गरे । मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काएका थिए ।

खेलको ४०औँ मिनेटमा अञ्जनले गोल गर्दै चर्चलाई अग्रता दिलाएका थिए । तर, ६६औँ मिनेटमा ओमोलाजाले गोल गर्दै मछिन्द्रलाई खेलमा फर्काएका थिए ।

७१औँ मिनेटमा कमलले गरेको गोल निर्णायक बनेपछि चर्चले महत्वपूर्ण तीन अंक सुरक्षित गर्‍यो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको चर्च ब्वाइजले १६ खेलबाट ३० अंक जोडेको छ । जुन दोस्रो स्थानको जावलाखेल युथ क्लबभन्दा तीन अंक बढी हो । दोस्रो स्थानको जावलाखेलले १६ खेलबाट २७ अंक जोडेको छ । समान खेल खेलेको मछिन्द्र २४ अंकसहित चौथो स्थानमा छ ।

लिगमा आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ३–० को सोझो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफलाई जित दिलाउन अर्मान्ड बेएडोउम, आभास लामिछाने र नविन लामाले गोल गरे ।

जितसँगै १६ खेलबाट २२ अंक जोडेको एपीएफ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट २१ अंक जोडेको आर्मी तालिकाको सातौं स्थानमा छ ।


Published :बैशाख २७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media