काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै आज देशैभरी प्रदर्शन हुने भएको छ ।
‘भ्रष्टाचार बिरुद्ध हामी’ भन्ने अभियान अन्र्तगत आज काठमाडौंमा र बिभिन्न नागरिक समाजले देशैभरी प्रदर्शन गर्न लागेका हुन् ।
अपरान्ह १२ः३० बजे नारायण चौर नक्सालमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहितको उपस्थितिमा बृहत प्रदर्शन हुँदैछ ।
‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो । त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु । राम्रो काम जसले गरे पनि सघाउनुपर्छ । देशभर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झण्डा, नारा नबोकी रास्वपा समर्थकहरू सकेसम्म सहभागी हुनुहोला । भ्रस्टाचार विरुद्ध एक हौं,’ लामिछानेले भनेका छन् ।
यसैगरी, नेपालका प्रमुख शहरहरू बिराटनगर, पोखरा, हेटौंडा, बुटवललगायतमा पनि आज प्रर्दशन हुँदैछ ।
अमेरिका पठाई दिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलीको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँडलगायत १२ जना पक्राउ परिसकेका छन् । पूर्व मन्त्री टोपबहादुर रायमाझी भने फरार रहेको अवस्थामा नागरिक समाजका बिभिन्न तप्काले आज प्रदर्शन गर्न लागेका हुन ।
यसअघि बुधबार बृहत् नागरिक आन्दोलनले काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेको थियो। उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेताहरूलाई कारबाही गर्न माग गरेका थिए ।