काभा वुमेन्स कपमा भारत समूह विजेता, नेपाल पराजित 

राष्ट्रपाटी न्युज

जेष्ठ १०, २०८०

काठमाडौं । काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा नेपाललाई हराउँदै भारतले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

पहिलो सेट १२:२५ को अन्तरले गुमाएको नेपालले दोस्रो सेट २४:२६ ले गुमाएको थियो । तेस्रो सेट २५:२१ ले आफ्नो पक्षमा पारेको नेपाल खेलले अर्को सेट २५:२१ ले गुमाउँदा भारत समूह विजेता बन्यो ।

जितसँगै समूह ‘ए’ को भारत ३ खेलमा ९ अंक शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल ३ खेलबाट ६ अंक जोडेर दोस्रो रहेको छ ।

दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको छ ।

नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्ने भएको छ ।

नेपाल र काजाकस्तानबीचको खेल शुक्रबार हुने छ ।


Published :जेष्ठ १०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media