सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रद्वारा शेर्पा १–३ गोलले पराजित 

राष्ट्रपाटी न्युज

जेष्ठ २४, २०८०

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा बुधबार मछिन्द्र फुटबल क्लबले हिमालयन शेर्पालाई १–३ गोलको नतिजामा पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलको २६औं मिनेटमा विमल घर्ती मगरले गोल गर्दै साविक विजेता मछिन्द्रलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा ०–१ ले पछि परेको हिमालयन शेर्पाले दोस्रो हाफमा दुई गोल खाएर एक गोल गर्यो। ओलावाले आफिजले ६८औं मिनेटमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे।

त्यसको ९ मिनेट नबित्दै ओलावालेले पुनः गोल गर्दै मछिन्द्रको अग्रता ०–३ मा लम्ब्याएका थिए। निर्धारित समयको अन्तिम मिनेटमा पिस्टोने मुतुम्बाले हिमालयन शेर्पाका लागि एक गोल गरे।

जितसँगै मछिन्द्रले २५ खेलबाट ४२ अंक जोडेको छ । साविक विजेता मछिन्द्रलाई पछि पार्दै चर्च ब्वाइज युनाइटेड एक खेल अगावै च्याम्पियन बनिसकेको छ । मछिन्द्रको पनि दोस्रो स्थान पक्का भएको छ।

पराजित हिमालयन शेर्पा २५औं चरणपछि ३१ अंक जोडेर नवौं स्थानमा छ । आजै च्यासल रंगशालामा भएको खेलमा न्युरोड टिमले मनाङ मर्स्याङ्दी क्लबलाई १–० को नतिजामा पराजित गरेको थियो ।


Published :जेष्ठ २४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media