नेपालद्वारा अमेरिका ६ विकेटले पराजित

काठमाडौँ । भीम सार्कीको अविजित ७७ रनप्रेरित नेपालले  आईसीसी क्रिकेट विश्वकप ग्लोबल छनोटको समूह बीमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।

जिम्बाब्वेको हरारेस्थित तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका भीमले ११४ बलमा ७ चौका र एक छक्कासहित अविजित ७७ रन बनाए ।

त्यसअघि ओपनर कुशल भुर्तेल ५४ बलमा चार चौका र एक छक्कासहित ३९ रन बनाएर पभिलियन फर्केका थिए। यस्तै, आसिफ शेख १२, कप्तान रोहित पौडेल १६ र कुशल मल्ल १३ रन बनाएर आउट भए।

भीमसँग पाँचौं विकेटका लागि ७४ रनको साझेदारी गरेका दीपेन्द्रसिंह ऐरी ३२ बलमा ३९ रन  जोडेर अविजित रहे । अमेरिकाका लागि सौरभ नेत्राभल्कर, नोस्थुस  केन्जिगे, निसार्ग पटेल र स्टेभन टेलरले एक–एक विकेट लिए ।

पहिलो इनिङमा सयान जहानगिरको अविजित शतकप्रेरित अमेरिकाल दुई सय आठ रनको लक्ष्य दिएको थियो। अमेरिकाका लागि सातौं नम्बरमा क्रिजमा उत्रिएका जहानगिरले ७९ बलमा १० चौका र तीन छक्कासहित १०० रन पूरा गरेका थिए।

नेपाली बलिङसामू सघर्षरत अमेरिकाका लागि जहागिर संकटमोचक साबित भए। ओपनर सुशान्त मोदानीले ४२ बाहेक अन्य अमेरिकी ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर तीन मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए। ललित राजवंशीले पनि एक अमेरिकी ब्याटरलाई पभिलियन फर्काउँदा सन्दीप लामिछाने विकेटविहीन रहे ।

पहिलो खेलमा घरेलु टिमसँग आठ विकेटले पराजित भएको नेपालको प्रतियोगितामा पहिलो जित हो ।

आजै भएको समूह बीको अर्को खेलमा जिम्बाब्वेले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ विकेट गुमाएर दिएको तीन सय १५ रनको लक्ष्य घरेलु टिमले ४०.५ ओभर बाँकी रहँदा चार विकेटको क्षतिमा पूरा गर्यो ।


Published :असार ५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media