प्रधानन्यायाधीशको कार्यक्षमतामाथि प्रश्न उठाउँदै न्यायाधीश भट्टराईले दिए राजीनामा

राष्ट्रपाटी न्युज

असार १०, २०८०

काठमाडौं । न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन् । केही दिनअघि प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की विरुद्ध उजुरी दिएर उनी चर्चामा आएका थिए ।

सर्वोच्च अदालतका मुख्य रजिष्टार र रजिष्टारको समेत उपस्थितिमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष उनले राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता विमन पौडेलले न्यायाधीश भट्टराइले राजीनामा दिएको पुष्टि गरे ।

स्रोतका अनुसार राजीनामा बुझाउँदा भट्टराईले प्रधानन्यायाधीशको कार्यक्षमतामाथि प्रश्न उठाएका थिए । प्रधानन्यायाधीशको कार्यकुशलता, नेतृत्व क्षमता, राजनीतिक लगाव लगायतका विषयमा सवाल उठाएका छन् ।

प्रधानन्यायाधीश नियुक्तिमा राजनीति हावी हुँदा न्यायाधीशको व्यक्तित्व बर्बाद भएको बताएका थिए । आरोपसहितको राजीनामा पत्र बुझ्न असहज हुने भन्दै न्यायाधीश भट्टराइलाई अर्को राजीनामा लेख्न लगाइएको थियो।

आफूले उजुरी दिएको व्यक्तिको मातहतमा काम गर्न नैतिकताले साथ नदिने भन्दै न्यायाधीश भट्टराईले राजीनामा बुझाएको बताएका छन् । संवैधानिक परिषदको गत वैशाख २५ गते बसेको बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको थियो ।


Published :असार १०, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media