काठमाडौँ । सन्तोष यादवले पाँच विकेट लिएको नेपाल यु १६ पुरुष क्रिकेट टिमले एसीसी मेन्स यु १६ इस्ट जोन कपमा थाइल्यान्डलाई दुई सय २५ रनले पराजित गरेको छ ।
मलेसियामा बुधबार बिहान टस जितेर ब्याटिङ थालेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाएर दुई सय ६९ रनको योगफल तयार गरेको थियो ।
दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको थाइल्यान्डले १३.२ ओभरमा अलआउट हुनुअघि ४४ रन मात्रै बनाउन सक्यो ।
थाइल्यान्डका लागि इशान बेनेर्जीले १६ र दानुफोन फाउन्गोटपिनिटले १२ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सन्तोषले ३.२ ओभरमा आठ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिए ।
अशोक बलामीले तीन ओभरमा तीन तथा अभिषेक तिवारीले दुई विकेट लिए । नेपालका लागि निरज कुमार यादवले ४३ बलमा सात चौका र ६ छक्कासहित सर्वाधिक ७४ रनको योगदान गरे। यस्तै नरेनले ५५, सन्तोषले ४२ र सूर्यान्सु कोइरालाले ४० रनको योगदान गरेका थिए ।