खेल क्षेत्र सरकारको विशेष प्राथमिकतामाः प्रम प्रचण्ड 

राष्ट्रपाटी न्युज

असार १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कला, साहित्य र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । कला, साहित्य र खेलकुद क्षेत्रमार्फत् आर्थिक सामाजिक रुपान्तरणलाई दिगो बनाउने उद्देश्यका साथ पहल लिएको बताए।

प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुल्ला महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै प्रधानन्त्री दाहालले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा समेत यस क्षेत्रलाई प्राथमिकता राखेको र यस पटक पनि उत्तिकै महत्व दिएको बताए ।

खेल क्षेत्रलाई प्रभावकारी बनाउन र अगाडि बढाउन सरकारको तर्फबाट शतप्रतिशत प्रयास रहने प्रधानमन्त्री दाहालको भनाइ छ ।

पछिल्ला दिनमा क्रिकेट खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्राप्त गरेको सफलताको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बक्सिङलाई पनि विश्वव्यापी रुपमा अगाडि बढाउन जरुरी रहेको बताए । उनले युवाको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएको स्पष्ट पारे ।

खेल क्षेत्रको विकास राष्ट्रको समृद्धि र युवाको भविष्यसँग जोडिएको प्रधानमन्त्रीको भनाइ छ।

प्रतियोगिताबाट खेल क्षेत्रको विकासमा थप मद्दत पुग्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे ।

प्रतियोगिता बूढानीलकण्ठ नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र नेपाल बक्सिङ संघले संयुक्तरुपमा आयोजना गरेका हुन् । प्रतियोगिता चार दिनसम्म चल्ने छ ।


Published :असार १७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media