काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ ।
महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
काठमाडौं-७ र बूढानीलकण्ठ-१० को सिमानामा रहेको क्षेत्रमा खोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउने भन्दै महानगर प्रहरी डोजर लिएर पुगेको थियो ।
नगरप्रहरी पुग्नासाथ स्थानीय भेला भएर आफूहरूसँग कुनै समन्वय नगरी महानगरपालिकाले खोतल्न लागेको भन्दै दुवै पक्षबीच झडप भएको हो ।
बूढानीलकण्ठ नगरपालिका-१० नम्बर वडाको सिमानामा पर्ने साततले नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डिएसपी मिनबहादुर थापाले बताए ।
बूढानीलकण्ठ नगरपालिकाका स्थानीय बासिन्दाले भने वर्षाको समयमा डोजर आतंक गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरे ।
काठमाडौं ७ नम्बर वडाका स्थानीयवासीले भने बूढानीलकण्ठ नगरपालिकाविरुद्ध नाराबाजी गरेका छन् ।