बढुवा गर्नुपर्ने माग गर्दै राखेपका कर्मचारी आन्दोलनमा

राष्ट्रपाटी न्युज

साउन ३१, २०८०

काठमाडौं । बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीले आफ्नो आन्दोलनलाई जारी राखेका छन् ।

गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

गत बिहीबार पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । घोषित आन्दोलनअनुसार गत आइतबारदेखि पाखुरामा कालोपट्टी बाँधेर कर्मचारी आफ्नो नियमित काम गरिरहेका छन् । बुधबार चौथो दिन उनीहरु पाखुरामा कालोपट्टी बाँधेर शान्तिपूर्ण आन्दोलनमा छन् ।

पेनडाउनसहितको आन्दोलनमा उत्रिएका परिषद्‌मा कार्यरत प्राविधिक एवं प्रशासनिक कर्मचारीहरुको बढुवा प्रक्रिया यथाशीघ्र अगाडि बढाउन माग गरेका हुन् ।


Published :साउन ३१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media