पुरुष क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा

राष्ट्रपाटी न्युज

अशोज १९, २०८०

काठमाडौँ । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरूष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। यो जितसँगै अफगानिस्तानले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ। आजै भएको पहिलो सेमिफाइनल खेलमा भारतले बङ्गलादेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो।

पाकिस्तानले अफगानिस्तानलाई जितका लागि ११६ रनको लक्ष्य दिएको थियो। जवाफमा अफगानिस्तानले १७ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। अफगानिस्तानको लागि नुर अलि जाद्रनले ३९ रनको योगदान दिए भने कप्तान गुल्बादिन नैबले अविजित २६ रनको योगदान दिए।

पाकिस्तानका अरफत मिनहास र अस्मान कदिरले समान दुई/दुई विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो। पाकिस्तानका लागि ओमैर युसुफले सर्वाधिक २४ रनको योगदान दिए भने अमेर जमलले १४ रन बनाए। त्यस्तै अरफत मिनसले १३ तथा रोहिल नजिरले १० रन बनाए।

अफगानिस्तानका फारिद अहमदले तीन विकेट झारे भने क्विस अहमदले दुई विकेट लिए। भारत र अफगानिस्तानबीचको फाइनल खेल भोलि हुँदैछ।


Published :अशोज १९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media