पाल्पामा स्कारपियो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक ५, २०८०

पाल्पा । पाल्पाको रानिमहल नजिकै स्कर्पियो दुर्घटना भएको छ। तानसेनबाट रानीमहलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२६ च ७२०९ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार जिप दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेकाहरू तीन जना महिला, दुई बालबालिका र एक पुरुष छन् । मृतकहरूको घोषणा भने गरिएको छैन।

दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारको लागि अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका इन्चार्ज प्रहरी नायब निरीक्षक राजकुमार चापागाईले जानकारी दिए।

घटनास्थल रानिमहल दरबारदेखि डेढ किलोमिटरको दूरीमा छ। तानसेन नगरपालिका अन्तर्गत पर्ने बैकुण्ठ भिरबाट दुर्घटनामा परेको उक्त स्कर्पियो सडकदेखि ७० मिटरभन्दा तल छांगोमा खसेको प्रहरी नायब निरीक्षक चापागाईले जानकारी दिए ।

घटनास्थल अत्यन्त अफ्ठ्यारो स्थानमा रहेको र दुर्घटनामा परेकाहरुको उद्धार गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ। गाडीमा कतिजना यात्रु थिए भन्ने खुलिसकेको छैन।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Published :कार्तिक ५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media