काठमाडौं । नागरिक बचाउ अभियानका अभियन्ता दुर्गां प्रसाईंलाई आजको विरोध प्रदर्शनमा सहभागी हुन रोक लगाइएको छ ।
आज गौशालामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुन भक्तपुरस्थित आफ्नो निवासबाट गौशाला आउने क्रममा प्रसाईंलाई प्रहरीले पेप्सीकोलामा रोकेर फर्काएको हो ।
पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा प्रसाईंसहितका अभियान कर्तालाई प्रहरीले रोकेको थियो। त्यहाँ केहीबेर बादविवाद समेत भएको थियो । प्रहरीका अनुसार प्रसाईंलाई आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश छ ।
गत बिहीबारदेखि राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक बचाउ अभियान भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका प्रसाईंको अभियानले नियमित रुपमा विरोध प्रदर्शन गरिरहेको छ ।
सोमबार गौशालामा गरिएको प्रदर्शनमा प्रहरीले धरपकड गरेको थियो। प्रसाईंका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। विवादित धर्मगुरु आचार्य श्रीनिवासले उक्त प्रदर्शनमा आक्रामक अभिव्यक्ति दिएर भीडलाई उत्तेजित बनाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आज आन्दोलनका लागि प्रदर्शनकारीसहित गौशालातर्फ आउन लागेका प्रसाई र उनका समर्थकहरुलाई प्रहरीले पेप्सिकोलाबाटै फर्काइदिएको छ ।