काठमाडौं । अवैधरूपमा नेपालीलाई रुस पठाउने १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
काठमाडौंको विभिन्न क्षेत्रबाट पक्राउ गरेका उनीहरूलाई बुधबार काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्वकर्मा, काठमाडौं जोरपाटीका २७ वर्षीय सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, काठमाडौं बुढानिलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिरहाका १९ वर्षीय दिपेन परियार छन्।
त्यस्तै काभ्रेका २९ वर्षीय सुबास लामा, चितवनका २५ वर्षीय गोकर्ण अर्याल, बाराका २४ वर्षीय सन्तोष नेपाल, ओखलढुंगाका २५ वर्षीया सुजाता दाहाल, लमजुङका ३५ वर्षीय ईश्वर अधिकारी र दाङका ३८ वर्षीय द्रोण डाँगी छन्।
पक्राउ परेकामध्ये सुजाताको कार्यालयबाट १४ लाख १८ हजार ५ सय नगद र २७ थान पासपोर्ट बरामद गरिएको छ भने ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद, १६ थान पासपोर्ट, एक थान ल्यापटप, एक थान प्रिन्टर र ७ थान मोबाइल बरामद गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए।
पक्राउ परेकामध्ये हरिबहादुर विश्वकर्मा, सुजाता दाहाल र गोकर्ण अर्याल माथिल्लो तहका एजेण्ट रहेको प्रहरीको भनाइ छ । उनीहरूले सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट राम्रो आम्दानीको प्रलोभन देखाएर रुस पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।