काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल प्रमाणित भएको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । संघीय गणतन्त्र भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रुपान्तरित भएको उनको आरोप छ ।
अध्यक्ष थापाले यो व्यवस्था असफल भएको कारणले सोको विकल्पमा नेपाली जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने माग गरे ।
उनले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना राजनैतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिने बताए । उनले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दुराष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहेको बताए ।
असफल प्रमाणित भएको भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्थासहितको प्रजातन्त्र र हिन्दुराज्य स्थापना, भ्रष्टाचार अन्त्य गरी सुशासन र आर्थिक समृद्धि कायम गर्न समान विचारधारा भएका राजनीतिक दल, समूहका बीचमा वृहत राष्ट्रिय मोर्चा निर्माण गर्नुपर्ने बताए ।