बूढानीलकण्ठका १८१ स्थानमा सिसि क्यामेरा जडान, २१ गते उद्घाटन

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकाले नगरपालिका भरि १८१ स्थानमा सिसि क्यामेरा जडान गरेको छ। ति क्यामेराहरुले २४ सै घण्टा खिच्ने दृश्यहरु उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट निरन्तर अनुगमन भैरहेको छ । यस सम्बन्धमा बूढानिलकण्ठ नगरपालिका र नेपाल प्रहरीबीच सम्झौता भैसकेको छ भने औपचारिक उद्घाटन आगामी २१ गते बूढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारि र उच्च पदस्थ प्रहरी अधिकारिहरुको उपस्थितिमा गरिने छ।

बूढानिलकण्ठका १३ वटै वडाका बिभिन्न महत्वपूर्ण स्थानहरुमा सिसिटिभी क्यामेरा राखिएको र यस पछि नगर क्षेत्रमा हुने बिभिन्न गतिविधिको अनुगमन तथा बिबिध आपराधिक गतिविधिको नियन्त्रण गर्न मदत पुग्ने नगर प्रवक्ता एबम बूढानिलकन्ठ नगरपालिका वडा नम्बर -१० का वडाध्यक्ष नबराज भट्टराईले बताएका छन्।

यसैबीच नगर प्रवक्ता एबम बूढानिलकन्ठ-१० का वडाध्यक्ष नबराज भट्टराईको नेतृत्वमा एक टोलीले सिसिटिभी क्यामेरा सम्बन्धमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा अबलोकन गरेको छ। उक्त टोलीमा नगरपालिकाका सुचना प्रविधि अधिकृत शान्त राज पौडेल तथा नगर प्रमुखको सचिवालयबाट उज्ज्वल पोख्रेल सहभागी थिए। उक्त अबसरमा उक्त टोलीले उच्च पदस्थ सहितका प्रहरी कर्मचारी सहित प्राविधिक टोलिसंग छलफल गरेको थियो।

सिसिटिभी क्यामेराले खिच्ने फुटेज उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ९० दिन सम्म सुरक्षित रहनेछ। कार्यालयमा खटिएका प्रहरी कर्मचारी तथा प्राविधिक टोलीले निरन्तर रुपमा अनुगमन गर्ने छन् भने प्रक्रिया पुर्याएर आबश्यक परेको ठाउंको फुटेज समेत लिन सकिने छ।

यो योजना सम्पन्न गर्न बूढानिलकण्ठ नगरपालिकाले करोडौं रुपैयाँ खर्च गरिरहेको छ ।


Published :माघ १६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media