बूढानीलकण्ठमा २८६० औँ सोनाम ल्होसार भव्य रुपमा मनाइयो

बूढानिलकण्ठ। बूढानिलकण्ठ नगरपालिकाले २८६० औँ सोनाम ल्होसार भव्य रुपमा मनाएको छ। बूढानिलकण्ठ नगरपालिकामा गुरुङ्ग, शेर्पा, तामाङ्ग (तमु, सोनाम र ग्याल्बो) लगायतको विभिन्न समुदायहरुले संयुक्त रुपमा ल्होछार मनाउन थालेको यो दोस्रो वर्ष हो। गत बर्ष पनि यसै गरी कार्यक्रम आयोजना भएको थियो ।

यो सोनाम ल्होसार पछि खरायो बर्ष पूरा भएर गरुढ वर्ष प्रवेश भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

२८६० औँ सोनाम ल्होसारको अवसरमा नगरपालिकाभित्र रहेका विभिन्न जातजाती, भेषभुषा, कला, संस्कृति, नाच तथा विभिन्न सांस्कृतिक विविधतालाई झल्काउन र प्रवर्द्धन गर्नका निमित्त सो कार्यक्रम आयोजना गरिएको बताइएको छ।

नगरपालिका प्राङ्गणबाट निस्केको वृहत साँस्कृतिक झाँकी सहितको र्याली गल्फुटार स्थित फुटबल मैदानमा भेला भई वृहत साँस्कृतिक कार्यक्रम र शुभकामना आदान प्रदान कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना रहेका थिए । नगर प्रवक्ता नवराज भट्टराईले सञ्चालन गरेको उद्घाटन समारोहको अध्यक्षतता उपप्रमुख अनिता लामाले गरेकी थिइन् भने अतिथिको रुपमा बागमती प्रदेश सभा सदस्य जयराम थापा, दलित आयोग सदस्य सुन्दर पुर्कुटि,बूढानिलकण्ठ क्षेत्र विकास समिति अध्यक्ष विदुर विक्रम खड्का, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल लगायत नगरपालिका सबै वडाका अध्यक्ष एवं कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुरुवात गर्दै उप-प्रमुख अनिता लामाले सामाजिक मुल्य मान्यता, कला, संस्कृतिहरुलाई प्रवर्द्धन मात्र गर्ने होइन यसलाई पुँजिको रुपमा समेटेर अघि बढ्नुपर्ने र यसमा नगरपालिका प्रतिवद्ध रहेको बताएकी थिइन् ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि माननीय गणेश तिमिल्सिनाले धर्म सँस्कृति र मौलिकता प्रवर्द्धन र संरक्षण अभियान स्वरुप स्थानीय तहले नै यस किसिमको रचनात्मक कार्यक्रम आयोजना गरेकोमा नगरपालिकालाई धन्यवाद दिएका थिए भने यस्तो अभियानले यहाँको मौलिकतालाई संसारभर चिनाउन मद्दत गर्ने आशा राखेको बताएका थिए ।

औपचारिक कार्यक्रमहरु सँगसँगै नगरपालिकाका विभिन्न स्थानमा बिभिन्न समुहहरुद्वारा आफ्नो मौलिकता झल्काउने नृत्य, झाँकी तथा भोम्बो नाच, तामाङ्ग सेलो, कौडा, शेर्पा नाच, नेवार समुयदायहरुको बाँसूरी खलः को प्रस्तुति लगायत सामुहिक तथा एकल प्रस्तुतिहरु समेटिएका थिए ।


Published :माघ २८, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media