सबै भाषा, जातिमा र क्षेत्रमा लोकगीत लोकप्रिय छः प्रधानमन्त्री दाहाल

राष्ट्रपाटी न्युज

फाल्गुन ५, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जातिमा र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको बताएका हुन् ।

“लोकसाहित्य युगौँदेखि जनसाधारणको मौखिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ । लोक साहित्यअन्तर्गत प्रमुख विधाको रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो,” प्रधानमन्त्रीले भने, “नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ । नेपालको मेचीदेखि महाकालीका साथै नेपालबाहिर समेत फैलिएर रहेको लोकगीत यहाँका हरेक संस्कृति, प्राकृतिक सौन्दर्य, जनजीवनका हरेक घटना, दुःख–सुखका सम्पूर्ण भोगाइहरू नै लोक गीतको प्रमुख विषयवस्तु भएर आउने गर्दछ ।”

बहुजाति, बहुभाषी तथा बहुसंस्कृतिको धनी देश नेपालको राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधारस्तम्भ लोकदोहोरीको मौलिकताको रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले लोकगीतले भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता बनाउनुपर्नेमा जोड दिए।

“हरेक देशको आफ्नै लोक संस्कृति हुन्छ । छुट्टै पहिचान, महत्त्व र कार्य हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ । विविधतापूर्ण संस्कृति भएका विश्वका मुलुकहरूमध्ये नेपाल त्यस्तो देश हो, जहाँ जातीय, भाषिक, सांस्कृतिक विविधतासहितको बलियो अन्तरघुलन र एकता छ ।”

हिमाल, पहाड र तराई–मधेशको जीवनपद्धति आ–आफ्नै हुने गरेको बताउँदै प्रधानमन्त्रीले जीवनपद्धतिका आधारमा संस्कृतिको विकास हुँदै जाने उल्लेख गरे । उनले भने, “हामीकहाँ सांस्कृतिक विविधताको प्रमुख आधार पनि जातीय, भाषिक, सामुदायिक र भौगोलिक विविधता नै हो । यसको सम्मान गरेर मात्र हामीले सही अर्थमा राष्ट्रिय संस्कृतिको विकास गर्न सक्छौँ ।”

लोक प्रतिभाहरूलाई आफूभित्र अन्तरनिहित प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न देशभित्र र विदेशमा लोक तथा दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने गराउने कार्य सराहनीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकसङ्गीतको संरक्षणका निम्ति लोक वाद्य सामग्रीहरूको प्रयोगमा जोड दिएका छन्  सबै नेपालीहरूमा राष्ट्रियता र नेपाली मौलिकताको भावना जगाउन क्रियाशील हुनुपर्ने उल्लेख गर्दै उहाँले  आफ्नो उद्देश्यमा प्रतिष्ठान एकताबद्ध प्रयासका साथ अग्रसर हुने विश्वास व्यक्त गरे ।


Published :फाल्गुन ५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media