त्रिवि उपकुलपतिमा सरकारले असफल व्यक्ति नियुक्त गर्न खोज्दै छः अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

फाल्गुन ७, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताएका छन्।

सिफारिस समितिले आइतबार उपकुलपतिका लागि प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमलाको नाम सरकारलाई सिफारिस गरेको थियो। गलत व्यक्तिहरूलाई सिफारिस गरेको भन्दै ओलीले सो अभिव्यक्ति दिएका हुन्।

सोमबार काठमाडौं आयोजित कार्यक्रममा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सरकारले एकलौटी गरेको र असफल व्यक्तिलाई नियुक्त गर्न खोजेको बताए। उनले वर्तमान सरकारले प्रजातान्त्रिक मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको उनको भनाइ छ। प्रजातान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्न खोज्दा एमाले सरकारलाई प्रतिपक्षीहरूले सहयोग नगरेको उनले बताए। मुलुकमा केही थिति बसाले पनि गठबन्धनले त्यसलाई भत्काउन खोजेको उनले बताए।

त्यस्तै उनले गैर सहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेकाले यस क्षेत्रमा समस्या सिर्जना भएको बताए। नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजेका कारण सहकारी क्षेत्र बदनाम भएको उनको भनाइ छ।

 


Published :फाल्गुन ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media