नवीन एवं संदेशमुलक बन्यो बुढानीलकण्ठ सांस्कृतिक-साहित्यिक महोत्सव-२०८०

राष्ट्रपाटी न्युज

१३ फाल्गुन २०८०

बूढानीलकण्ठ। बूढानीलकण्ठ नगरपालिकामा पहिलो पटक ‘बूढानीलकण्ठ साहित्यिक, सांस्कृतिक महोत्सव २०८०’ भव्य रुपमा सम्पन्न भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा यहि फाल्गुन ११ र १२ गते गरी दुई दिने महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको पहिलो दिन फाल्गुन ११ गते शुक्रबारको दिन बु.न.पा. १३ स्थित चुनिखेलमा संचालन गरिएको थियो भने दोस्रो दिन बु.न.पा. ३ स्थित विश्व प्रसिद्ध तीर्थस्थल बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सवको आयोजना गरिएको थियो ।

फाल्गुन ११ गते संचालन भएको महोत्सवमा सुप्रसिद्ध कलाकार हरिवंश आचार्य, वरिष्ठ साहित्यकार झमक घिमिरे, नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि लगायत साहितयकार, विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरु, नगरपालिका कर्मचारी र साहित्यप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।

महोत्सवको प्रमुख आकर्षणको रुपमा सुप्रशिद्ध कलाकार हरिवंश आचार्यलाई वरिष्ठ साहित्यकार झमक घिमिरेले फुलको गुच्छा प्रदान गर्दै स्वागत गरेकी थिइन् ।

कलाकार हरिवंश आचार्यले स्वागत मन्त्वय राख्दै महोत्सव उद्घाटन गरेका थिए ।

महोत्सवलाई सांस्कृतिक रौनक प्रदान गर्नका लागी नगरपालिकामा रहेका विभिन्न वासुरी खलः, ढिमे खलः भजन खलः र ढम्फु समाजले आफनो प्रस्तुतिहरु दिएका थिए ।

नगरपालिका सम्पुर्ण जनप्रतिनिधिले वडागत रुपमा सांस्कृतिक भेषभुषा सहितको प्रदर्शनी मार्फत महोत्सवमा सम्पुर्णलाई स्वागत गरेका थिए । साथै महिला जनप्रतिनिधिहरुको सामुहिक सांस्कृतिक प्रदर्शनी समेत भएको थियो ।

नगर प्रमुख मिठाराम अधिकारी र नगर उपप्रमुख अनिता लामाले मन्त्वय राख्दै महोत्सवमा औपचारीक सत्रहरु सञ्चालन भएका थिए ।

नगरपालिका द्वारा आयोजित महोत्सवको दोस्रो दिन सांस्कृतिक झाँकि प्रदर्शनी, सम्मान कार्यक्रम तथा सत्रहरु संचालन भए सँगै समापन भएको थियो ।

महोत्सव दोस्रो दिनको झाँकि प्रदर्शनीबाट सुरुवात गर्दै जनकवि दुर्गालाल श्रेष्ठलाई आजिवन साधना सम्मान गरिएको थियो । उनलाई नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले दोसल्ला ओडाउँदै सम्मान पत्र प्रदान गरेका थिए।

सोहि उपलक्ष्यमा वरिष्ठ साहित्यकार झमक घिमिरेसँग भेटघाट अवसर आयोजकले जुटाएका थिए ।

महोत्सवको तालिका अनुसार क्रमशः सेसनहरु सुरु भए ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न नगरपालिकाका प्रमुखहरुकाबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरुलाई समेट्दै छलफल, बहस तथा अन्तरक्रियाको कार्यक्रमहरु महोत्सवमा समेटिएका छन् ।

महोत्सवमा विशेषगरी बुढानीलकण्ठकै स्थानीय साहित्यकार, कविहरुकाे लेख/रचना, नगरपालीका भित्र सञ्चालित विद्यालयबाट प्राप्त भएका विद्यार्थीहरुको कविताहरू, विद्यालयका किशोर किशोरीहरूबिचको अन्तर्क्रिया, यस नगरपालिका र सिमाना जोडिएका पालिकाका प्रमुख बिचको बहस, वडाका जनप्रतिनिधिहरुबिचको नगर विकास लगायतका गतिविधिहरु बारेमा कुराकानी, राष्ट्रिय साहित्य तथा कविहरुको प्रस्तुती, लगायत स्थानीय भाषा, संस्कृति तथा नगरपालिकाको विविध विशेषताका प्रस्तुतिहरु समेटिएका छन् ।

 

 


Published :१३ फाल्गुन २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media