बझाङ प्रदेशसभा–१ मा एमालेका दमनबहादुर भण्डारी विजयी

राष्ट्रपाटी न्युज

बैशाख १७, २०८१

बझाङ । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पछि पार्दै विजयी भएका हुन ।
भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् ।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् । निर्वाचन आयोगले घोषणा भने गर्न बाँकी छ ।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो । यहाँ ११ दलका उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् ।

गत निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत मात्र पाएका थिए ।


Published :बैशाख १७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media