
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको वैधानिक रूपान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले देउवाको अनुभव पार्टीका लागि विशेष उपयोगी हुने बताएका हुन्।
उपचारका क्रममा हङकङ बस्दै आएका देउवा बिहीबार नेपाल फर्किएका छन्। स्वदेश फर्किएका देउवालाई कांग्रेस नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए।
प्रवक्ता चालिसेले नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनको अनुभव पार्टीका लागि विशेष उपयोगी हुने बताए।
त्यस्तै कांग्रेसले पत्रकार किशोर श्रेष्ठमाथि भएको धरपकडप्रति आपत्ति जनाएको छ। उक्त घटनाको न्याय निरुपण आधिकारिक प्रक्रियाबाट हुनुपर्ने भए पनि सत्ताबाट प्रेसको घाँटी निमोठ्ने काम भएको प्रवक्ता चालिसेले बताए।
प्रवक्ता चालिसेले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको हनन भएको बताए। कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा रहेको र पत्रकार श्रेष्ठको पक्राउको बर्खिलापमा रहेको उनको भनाइ छ।
त्यस्तै सार्वजनिक लेखा समितिको बैठकमा सत्तापक्षका सांसदहरूले मर्यादा विपरीत र असभ्य भाषा प्रयोग गरेको विषयमा पनि कांग्रेसले आपत्ति जनाएको छ। यस्तो व्यवहार उन्नत लोकतन्त्रका मूल्य-मान्यताविपरीत रहेको भन्दै कांग्रेसले सत्तापक्षका सांसदलाई आफ्नो आचरण र मर्यादामा ध्यान दिन आग्रह गरेको छ।