
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत गर्दै उनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदबाट दिएको लिखित राजीनामा प्रदेश प्रमुख मियाँले स्वीकृत गरेका हुन्।
राजीनामा स्वीकृत भएसँगै नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।
प्रदेश प्रमुखले साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न आह्वान गरेका छन्।