
काठमाडौं। नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा एमाले काठमाडौंको सातौँ अधिवेशनमा भएको मतदानमा निरौलाले ३७० मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी निर्मल देउलाले १९१ मत प्राप्त गरेका छन् । त्यसै गरि सचिवमा दीपक निरौला पक्षधर राजेश शाक्यले उतिनै ३७० मत ल्याएर बिजयी भए भने प्रतिष्पर्धी सत्य नारायण डंगोलले १९१ मत मात्र प्राप्त गरि पराजित भएका छन्।
त्यस्तै २६४ मत प्राप्त गरि कमिटीको उपाध्यक्षमा विश्व राम सापकोटा विजयी बनेका छन् भने उपसचिवमा उद्दव भण्डारी ३४३ मत प्राप्त गरि विजयी बनेका हुन् ।
महिला उपसचिवमा बिन्दु महर्जन यस अघि नै सर्वसम्मत भैसकेकी छन् ।
नेकपा एमालेको राजनीतिक वृतमा जर्साबको संज्ञा पाएका निरौलाले १७९ मतको फराकिलो मतान्तर सहित शानदार विजय प्राप्त गरेका छन्। निर्मल देउला संगको उनको प्रतिष्पर्धालाइ धेरैले गम्भीर रुपमा लिएपनि निरौला आफैं भने ढुक्क जस्तै देखिन्थे। बन्दसत्रको हलमा प्रतिवेदन उपर जवाफ दिने क्रममा उठेका बिभिन्न बिषयमा निरौलाले पार्टी भित्रका पुराना बिषय सहित जोडेर आक्रामक र शसक्त मन्तव्य दिएका थिए।
माथिल्लो कमिटिका नेताहरुको कसैको असहयोग र कसैको तठस्थ भूमिकाका बिचमा पनि उनले प्रतिनिधि छनोटको विषयलाई प्राविधिक र राजनीतिक रुपमा आफु अनुकुल ब्यबस्थापन गर्न सफल भएको सजिलै बुझ्न सकिन्थ्यो। मतगणनाको समयमा पनि निरौला जित्ने कुरामा ढुक्क जस्तै देखिन्थे।
यो अधिवेशनले चयन गरेको नेतृत्व नै आगामी २०८४ को निर्वाचनसम्म रहने हुँदा यसको विशिष्ट महत्व रहेको छ। आगामी निर्वाचनमा हुने टिकट वितरण लगायत जिम्वेवारी बाडफाडमा समेत दीपक निरौलाको निर्णायक भूमिका हुने हुँदा नेकपा एमाले काठमाडौंको आगामी राजनीति दिपक निरौला कै वरिपरि घुम्ने निश्चित भएको छ।