संघीय संसद् भवनमा कार्यरत प्रहरी जवानको गोली लागेर मृत्यु

काठमाडौँ । संघीय संसद भवन परिसरमा गोली लागि नेपाल प्रहरीका जवान अजित गोलेको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बुधबार बिहान आफैँलाई गोली हानेका संघीय संसद् भवनमा कार्यरत प्रहरी जवान गोलेको घटनास्थलमै मृत्यु भएको हो ।

संघीय संसद् भवनको पश्चिमपट्टि २ नम्बर गेटमा सुरक्षार्थ हतियारसहित ड्युटीमा खटिएका नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद् सुरक्षा बेस नयाँ बानेश्वरमा कार्यरत प्रहरी जवान गोलेले आज विहान अन्दाजी ८ बजेतिर उक्त गेटको बाँयापट्टि रहेको शौचालयमा गएका बेला आफूले बोकेको इन्सास राइफलले आफ्नो निधारमा फायर गरेको प्रहरीले जनाएको छ । अन्दाजी ८ः१५ बजेतिर उनी मृत अवस्थामा फेला परेका थिए । उनको ड्युटी ६ बजेदेखि बिहान १० बजेसम्म थियो ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका २२ वर्षा गोलेले किन आफैँलाई गोली हाने भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ ।


Published :असार ४, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media