मनसुन सक्रिय रहुञ्जेल मेलम्ची खानेपानी आयोजना बन्द

राष्ट्रपाटी न्युज

असार १०, २०८१

काठमाडौं । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार सोमबार साँझदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको हो ।

माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्याएको थियो । साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

“नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन हामीले मेलम्ची खानेपानी आयोजना सञ्चालन नै राखेका थियौँ”, उनले भने, “तर नदीमा बाढी आउन थालेपछि अब बन्द गर्न बाध्य भएका हौँ, मनसुन सक्रिय रहुञ्जेल आयोजना बन्द नै रहनेछ ।”

गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा बन्द गरिएको थिएन् । समितिले गत शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरेको थियो । तर नदीमा पानीको वहाब नबढेपछि आयोजना सञ्चालन नै राखिएको थियो ।

लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली विकास बैंक (एडीबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिएका थिए ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरुभएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि सञ्चालन गर्दै आएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरे पनि यो पटक तीन दिन चाँडो मनसुन भित्रिएको थियो । मनसुन अक्टोबर २ मा बाहिरने अनुमान छ ।


Published :असार १०, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media