पहिरोको उच्च जोखिममा खोटाङको चेकेथुम गाउँ

खोटाङ। बराहपोखरी गाउँपालिका-२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ। गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मष्टपुखोलाबाट  पहिरो बर्सेनी माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका हुन्।

२५ वर्षअघि शुरु भएको पहिरो निरन्तर माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुम गाउँका बासिन्दा दिनरात त्रासमा बस्नुपरेको बराहपोखरी-२ वडाध्यक्ष पदम मगरले बताए। ‘चेकेथुमभन्दा मुनिका क्षेत्रमा प्रायः हरेक वर्षको भदौ र असोजमा पहिरो खस्ने गरेको छ। पहिरोभन्दा माथि गाउँमा ६१ घर स्थानीय बासिन्दाको बसोबास छ’, उनले भने, ‘पहिरो निरन्तर सर्दै गाउँतर्फ आएपछि यो वर्ष स्थानीय खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर उच्च जोखिममा परिसकेको छ। यही क्रम नरोकिने हो भने पूरै गाउँ बग्ने खतरा बढेको छ।’

हिउँद, बर्खा निरन्तर पानी बगिरहने मस्टपुखोलाबाट शुरु भएको पहिरो क्रमशः गाउँतिर सरेपछि २०७२ सालमा चेकेथुमको तल्लो भेगमा बसोबास गर्ने २८ घर बासिन्दा विस्थापित भएका थिए। पहिरोबाट विस्थापित दण्डबहादुर तामाङ र डम्बरबहादुर तामाङ छिमेकी जिल्ला उदयपुरको राजाबास भन्ने ठाउँमा बसाइँ सरिसकेका छन्।

पहिरोबाट विस्थापित भएका २८ घरमध्ये २६ घरका स्थानीय बासिन्दा आसपासका स्थानीयको जग्गा खरिद गरेर तथा आफ्नै सुरक्षित जग्गामा घर बनाएर सरेका छन्। भिरालो जमिन रहेको चेकेथुममा वर्षाको पानीले धाँजा फाट्ने र घाम लागेपछि क्रमशः पहिरोका रूपमा खस्ने क्रम नरोकिँदा तल्लो क्षेत्रमा पर्ने सयौँ रोपनी खेतीयोग्य जमिन बगिसकेको स्थानीय बासिन्दाले बताए।

बर्सेनी निरन्तर गइरहने पहिरो माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुम सिङ्गो गाउँ तथा एउटा सामुदायिक विद्यालय पहिरोको उच्च जोखिममा पर्दै गएको स्थानीय आशिष बञ्जराले जानकारी दिए। ‘निरन्तर खसिरहने पहिरोका आकार करिब ५०० मिटर फराकिलो छ। पहिरोले बस्तीसँगै जनचेतना आधारभूत विद्यालय पनि जोखिममा परेको छ’, उनले भने, ‘पहिरो बर्सेनी माथिल्लो भेगमा रहेको गाउँतर्फ सर्दै गएपछि तल्लो भेगमा रहेका बस्ती पनि माथिमाथि सरेको छ। पहिरो नरोकिँदा घर सार्नुपर्ने बाध्यताले स्थानीय बासिन्दा हैरानीमा परेका छन्।’

बर्खामा केही नहुने पहिरो वर्षा रोकिएर घामले जमिन तातिन थालेपछि फाट्दै गएर ठूलो पहिरोका रूपमा खस्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्। सिमसार र कमेरे माटो भएको जमिनलाई वर्षाको समयमा खोलामा आएको भलले कटान गरिरहने भएका कारण चेकेथुममा पहिरो नरोकिएको स्थानीय बासिन्दाको बुझाइ छ। लामो समयदेखि निरन्तर खसिरहने पहिरो रोकथाम गर्न सकिने सम्भावना नरहेको वडाध्यक्ष मगरले बताए। वडाध्यक्ष मगरका अनुसार सिमसार र कमेरे माटो भएको ठाउँबाट पहिरो गएकाले नियन्त्रण गर्न सम्भव नभएको हो।

पहिरोबाट विस्थापित चेकेथुमका स्थानीय बासिन्दाले विस्थापित भए पनि राज्यको तर्फबाट अहिलेसम्म क्षतिपूर्तिबापत केही पनि नपाएको गुनासो गरे ।


Published :भदौ १३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media