कपन कृष्ण मन्दिरमा भव्य रुपमा मनाइयो कृष्णजन्माष्टमी पर्व

राष्ट्रपाटी न्युज

१४ भाद्र २०८१

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वार्ड नं ११ कपनमा रहेको कृष्ण मन्दिरमा यस वर्षको कृष्णजन्माष्टमी भव्य रुपमा मनाइएको छ।

यसैका लागि मन्दिर परिसर वरपर झिलिमिली बत्तीहरुले सजाएर आकर्षक बनाइएको थियो भने दर्शन गर्न आउने भक्तजनहरूको सुविधा र सहजताका लागि आवश्यक तयारी पूर्ण रुपमा गरिएको थियो। उक्त दिन भक्तजनहरुलाई खानेपानी प्रबन्ध, प्रसाद वितरण, सुरक्षा तथा स्वास्थ्य जाँचको विशेष व्यबस्था समेत गरिएको थियो। त्यसैगरी साँझको बेला देखि भव्य रुपमा भजनकीर्तन कार्यक्रम आयोजना भएको आधारशीला युवा क्लबका अध्यक्ष सुजन लामाले जानकारी दिएका छन्।

यस बर्षको मेलामा निरन्तर बर्षाको बिचमा पनि हजारौं भक्तजनहरुले दर्शन गर्दै सक्रिय सहभागीता जनाएको लामाले जानकारी दिएका छन्।

त्यसैगरी कार्यक्रममा नेपाल स्काउटका स्वयंसेवकहरुले सहजीकरणका लागि साथ दिएका थिए।

२०३२ सालमा स्थापित यो कृष्ण मन्दिरमा हरेक वर्ष जन्माष्टमीमा मेला लाग्ने गर्छ र मेलामा हजारौं भक्तजनहरूको भीड लाग्ने गर्छ ।

 


Published :१४ भाद्र २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media