काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर-२ स्थित मैत्री नगरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका छन् ।
एमाले केन्द्रीय सचिवालयको बैठकले नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको थियो । २०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो । त्यसपश्चात ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा केन्द्रीय कार्यालय स्थापना गरेको हो ।
हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्टानमा बाढीले क्षति पुर्याएपछि मैत्रीनगरमा एमालेले नयाँ कार्यालय भवन बनाउन लागेको हो ।
भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्न लागेको एमालेले जनाएको छ । भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाइएको छ ।
गुरुङले आफूले अन्य पार्टीलाई पनि सहयोग गर्दै आएको एमालेलाई सहयोग गर्न पाउनु एक अवसर भएको बताए । उनले एक वर्षभित्र भवन बनाएर आउने घटस्थापनाका दिन एमालेलाई हस्तान्तरण गर्ने बताए ।