दमकमा बहु उपयोगी १८ तले भवन, प्रधानमन्त्री ओलीले आइतबार उद्घाटन गर्दै

राष्ट्रपाटी न्युज

२२ मंसिर २०८१

झापा । दमकमा बहु उपयोगी १८ तले भवन निर्माण गरिएको छ । दमक नगरपालिका–३, दापगाछीमा एक अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (भोलि) उद्घाटन गर्ने कार्यक्रम छ ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसीजीआईआईसी र आशीष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताए । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।

यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर नगरपालिका–४, बाहुनडाँगीस्थित मानव आश्रम भवनको आइतबार नै उद्घाटन गर्ने कार्यक्रम छ । उनका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताए ।


Published :२२ मंसिर २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media